नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

 जेठ १३, २०८० शनिबार ११:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमै स्पष्ट पार्ने भएपछि नेकपा एमाले अवरोध हटाउन तयार भएको हो ।

संसदको अवरोध हटाउने विषयमा आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्ष नेताहरुबीच भएको छलफलमा जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालले बोेलेको विषय संसदको रेकर्डबाट हटाउने र यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि बैठकमै स्पष्ट पार्ने सहमति भएको छ ।

संसद बैठक आज दिउँसो ४ बजेको लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ । प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

गएको बुधबारको बैठकमा माओवादीका सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारका थुप्रै काण्ड भएको र पशुपतिनाथमा सुनको जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाउनुभएको थियो । दाहालको आरोपमा आपत्ति जनाउँदै एमालेले हिजो प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै बैठक चल्न दिएको थिएन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया