कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा

 जेठ १३, २०८० शनिबार १३:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ ।

उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उहाँले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताउनु भयो । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले बडा चुनौती आएको छ देशमा । राष्ट्रमा लामो लडाईपछि आएको प्रजातन्त्र हो । यसको खिलापमा पनि एकथरी लागेका छन । त्यसकारणले यस्तो हुनुलाई अन्यथा लिनु हुँदैन । त्यसकारण हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा, केही कमी छन भने सुधार्दै अगाडि बढ्नुपर्दछ । प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हो । अरु कुनै हुन सक्दैन । यो कुरा सबैले बुझ्नुपर्दछ भन्न चाहन्छु ।’

त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गर्नुभयो । उहाँले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको विरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया