प्रधानमन्त्रीलाई विज्ञको सुझाव – ‘भारत भ्रमणमा 'मेन्यु' लिएर नजानुस्’

 जेठ १४, २०८० आइतबार १८:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा 'मेन्यु' लिएर नजान सुझाव दिनुभएकाे छ । 

आइतवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै अध्यापक प्याकुरेलले प्रधानमन्त्रीलाई यस्ताे सुझाव दिनुभएकाे हाे । उहाँले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका कामबाहेकका अन्य नयाँ योजनाहरूको बारेमा थप छलफल गर्न आवश्यक रहेको प्याकुरेलकाे आग्रह छ ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले मोदीजीसँग भेटेर अब नेपाल र भारतको सम्बन्धको सन्दर्भमा भइसकेका कामबाहेकका अरू काम गर्ने वातावरण बनाउनुपर्छ । त्यहाँ कुनै एजेन्डा प्रस्तुत गर्ने होइन ।यो सद्भावना भ्रमण हो । यसले सम्बन्धमा सुरुवात हुनेछन्, मेन्युले काम गर्ने छैन ।’

कार्यक्रममा नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणमा नेपाल र भारतबीच ऊर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिनुभयाे । भारतले नेपालसँग ऊर्जासँग सम्बन्धित सम्झौताहरू गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै उहाँले यसबारेमा राजनीतिक रूपबाटै समाधान गर्नुपर्ने जोड दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको आर्थिक अवस्थाकाे बारेमा समाधानका लागि पनि ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

भट्टराईले दुई पक्षीय व्यापार असन्तुलनका बारेमा पनि सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भारत सरकारको असहमतिका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्न नसकेको भन्दै यस विषयमा पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्रीकाे भारत भ्रमणमा हामीले अहिले भोगेका तत्कालिक समस्याका बारेमा पनि पहल गर्नुपर्छ । भारतीय पक्षसँग हामीले लिनुपर्ने सहयोग, उठाउनुपर्ने विषय र सम्बोधन गरेर निचोडमा पुर्‍याउनुपर्ने विषयकाे बारेमा गम्भीरतापूर्वक नै छलफल हुनुपर्छ । विद्युत् निर्यात गर्ने कुरामा दुई देशबीच भएकाे सम्झौतालाई अघि बढाउनुपर्छ । ’

कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भइरहेको बताउनुभयो । उहाँले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने बताउनुभयो । नेपाल माग्ने देश जसरी 'लिस्ट' लिएर जान नहुने पूर्वराजदूत सिंहकाे सुझाव छ ।

उहाँले भन्नुभयो, ‘भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भएको देखिन्छ । त्यसबाट हट्न आवश्यक छ । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै बढी फलदायी हुन्छ, नेपाल एउटा माग्ने देश जसरी लिस्ट लिएर जाने होइन, साना ठूला लिस्टहरू बोकेर जाने काम प्रधानमन्त्रीको होइन ।’

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया