राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

 जेठ १४, २०८० आइतबार १९:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कानुनअनुसार सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ । आज आइतवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहितका कैदीको बाँकी सजाय मिनाह गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । कैलालीको टीकापुरमा सात जना सुरक्षाकर्मी र एक नाबालक गरी आठ जनाको ज्यान गएको घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियाे ।

यस्तै गणतन्त्र दिवसकै अवसरमा १९ जना कैदीले आममाफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनालाई आममाफी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आममाफी दिन सक्ने व्यवस्था पनि कानुनमा छ । तर निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाहा र आममाफी सुविधा पाउने व्यवस्था छैन । ६५ वर्ष पूरा भई ७० वर्ष ननाघे व्यक्तिको कैदलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेको कैदीलाई ५० प्रतिशतसम्म र ७५ वर्ष उमेर पूरा भएका कैदीलाई ७५ वर्षसम्म कैद छुट दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

यस्ताे छ राष्ट्रपति कार्यालयकाे विज्ञप्ति–

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया