‘प्रधानमन्त्रीले राष्ट्रिय हितमा केन्द्रित भएर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्नुपर्छ’

 जेठ १४, २०८० आइतबार २०:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।

यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतवार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग सुझाव लिनुभएको हो । प्रधानमन्त्रीले आफूलाई सबैले राष्ट्रको हितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारत भ्रमणको बारेमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, दलका नेता, विज्ञहरूको सुझाव लिने क्रम चलिराखेको छ । उहाँहरूले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनुभएको छ ।’

छलफलका क्रममा नेताहरूले भने राष्ट्रिय हितलाई सर्वोपरि ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन बुझेर अघि बढ्नुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले त्यसमा दुई देशबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुने गरी छलफल गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले ईपीजी प्रतिवेदन बुझ्ने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भू–भाग नेपालले उपयोग गर्न पाउने गरी छलफल गर्न पनि पार्टीको तर्फबाट सुझाव दिइएको उहाँकाे भनाइ छ ।

राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको कांग्रेस नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनुभयो । उहाँले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा पनि भारतसँग गम्भीरतापूर्वक छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मसम्मानमा चोट नपुर्‍याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बताउनुभयो । उहाँले आपसी हितका विषयमा कुरा गरेर विश्वासको वातावरण सृजना गर्न पनि आफूले परामर्श दिएको बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई देशबीचको सीमा विवाद समाधान हुने गरी तथ्यहरूसहित भारतसँग छलफल गर्न आफूले सुझाव दिएको बताउनुभयो । उहाँले विगतमा गरिएका समझदारी कार्यान्वयनको विषयमा पनि छलफलमा जोड दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया