प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको समस्या समाधानबारे कुरा उठाउन माग

 जेठ १५, २०८० सोमबार ११:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - भुटानमा राजनीतिक बन्दीको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भुटानी शरणार्थीको समस्या समाधानका विषयलाई प्राथमिकतामा साथ उठाउन आग्रह गरेको छ ।

भुटानी मानवअधिकारकर्मी एवम् जीसीआरपीपीबीको नेतृत्वकर्ता राम कार्कीले विज्ञप्ति निकालेर भुटानी शरणार्थी समस्या समाधानका विषयमा गम्भीर हुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु भएको हो । प्रधानमन्त्री प्रचण्ड आउँदो १७ गते बुधवार भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

भुटानसँग भारतको बलियो सम्बन्ध रहेकाले शरणार्थी समस्याको समाधानमा भारतको सहयोग लिन कार्कीको सुझाव छ । अहिले पनि पूर्वी नेपालमा रहेका दुई वटा शिविरमा ६ हजार ५ सयभन्दा धेरै भुटानी शरणार्थी बस्दै आएका छन् । त्यसमध्ये २ हजार ५ सय जना आफ्नै देश फर्किने प्रतिक्षामा छन् । त्यसैले उनीहरुलाई छिट्टै भुटान फर्किने वातावरण बनाउन भारतको सहयोग लिन विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

यस्तै, भुटानी जेलमा रहेका राजनीतिक बन्दीको रिहाइका लागि पनि भारतको समर्थन जुटाइ पहल थाल्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरिएको छ । राजनीतिक बन्दीको रिहाइको लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले भुटानका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका ५० जना भन्दा बढी राजनीतिक बन्दीहरुलाई रिहाइ गर्न अपिल गरेको हो।

पन्ध्र पटकसम्म नेपाल र भुटानबीचको वार्ताले शरणार्थी समस्याको समाधान निकाल्न नसकेकाले यसका लागि भारतको सहयोगको आवश्यकता भएको जीसीआरपीपीबीले जनाएको छ । सन् १९९० को सेप्टेम्बर–अक्टोबर र त्यसपछि, भुटानी सरकारबाट सांस्कृतिक अधिकारको माग गर्दै दक्षिणी भुटानमा शान्तिपूर्ण प्रदर्शन र आन्दोलन भएका थिए ।

यस्ता राजनीतिक गतिविधिमा संलग्न भएका कारण धेरै कार्यकर्ता त्यतिबेला जेलमा परेका थिए । जीसीआरपीपीबीले राजनीतिक बन्दीको रिहाइका लागि लामो समयदेखि विश्वव्यापी अभियान चलाउँदै आएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया