दमौली अस्पतालमा डेढ महिनादेखि बन्द डायलायसिस सेवा पुनः सुरु

 जेठ १७, २०८० बुधबार १०:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डो – दमौली अस्पतालमा उपकरण बिग्रिएपछि डेढ महिनादेखि बन्द रहेको डायलायसिस सेवा पुनः सुरु भएको छ । 

गएको वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मंगलवार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएपछि सेवा सुरु भएको हो । 

डायलायसिस सेवा सञ्चालनमा आएको अस्पतालको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।

उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा सातवटा बिग्रिएका थिए । राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।

चारवटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो । ११ वटै उपकरण सञ्चालन हुँदा भने दैनिक २७ बिरामीले सेवा पाउन सक्छन् । केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो ।

केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको सङ्ख्या ५० रहेको छ । अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खिँदै छन् । उनीहरु मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन् ।

उपचार केन्द्रमा डायलायसिस गराइरहेकाहरुको चाप रहेका कारण भइरहेका रोगीले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताउनुभयो । 

२०७२ साल मंसिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो ।

केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा एक करोड रूपैयाँ सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया