चिटिक्क विमानस्थल तर, जहाज चढ्न पाइने टुङ्गो छैन

 जेठ १८, २०८० बिहिबार ११:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रङरोगन गरेर बागलुङको बलेवा विमानस्थल चिटिक्क भएको एक वर्ष भयो । धावनमार्ग पनि कालोपत्रे छ । तर, यति हुँदा पनि विमानस्थलमा कहिलेदेखि विमान आउँछ र सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन ।

स्थानीयले श्रमदान गरी २०२२ सालमा बनाएको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । विसं २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि भने विमानस्थल बन्द भयो ।

छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो । त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे ।

तर, धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या भएपछि उडान रोकियो । धावनमार्ग कालोपत्रे गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आशा पलाएको थियो । तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन् ।

२०७८ साल चैतमा सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रे भएसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ । 

धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको सात करोड रुपैयाँको लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो ।

अहिले लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नै विमानस्थल जीर्ण बन्ने जोखिम छ । सरकारले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताउनुभयो।

पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘विमानस्थल सञ्चालन गर्नकै लागि सरकारले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन ।’

बलेवा बजारका रूपमा विकास भएको छ । पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधन गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ ।

बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धावनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताउनुभयो ।

विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । यहाँदेखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ ।

विमानस्थलबाट २०४८ सालसम्म काठमाण्डौ, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का हप्तामा एक पटक भए पनि उडानको योजना रहेको बताउनुहुन्छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्रे हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उहाँको भनाइ छ ।

विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया