‘ए’ डिभिजन लिग : रेलिगेशनबाट जोगिन एपीएफलाई कम्तीमा बराबरी र फ्रेन्ड्सलाई जित्नैपर्ने दबाब

 जेठ २६, २०८० शुक्रबार ८:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफलाई रेलिगेशनबाट जोगिन आजको खेलमा कम्तीमा बराबरी आवश्यक छ भने फ्रेन्ड्सलाई जित्नैपर्ने दबाब छ । एपीएफ २५ खेलमा ३० अङ्कका साथ तालिकाको ११ औँ स्थानमा र फ्रेन्ड्स २५ खेलमा २७ अङ्कका साथ १३ औं स्थानमा छ ।

रङ्गशालामा हुने आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बेलुका ६ बजे खेल्दैछन् । आर्मी २५ खेलमा ३१ अङ्क जोडेर आठौँ स्थानमा र हिमालयन शेर्पा समान खेलमा ३१ अङ्कका साथ दशौँ स्थानमा छ ।

यस्तै, एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । खुमलटार २५ खेलमा २७ अङ्कका साथ तालिकाको पुछारमा छ ।

रेलिगेशनबाट जोगिने गणितीय सम्भावना कायम राख्न खुमलटारलाई आजको खेल जित्नैपर्ने दबाब छ । चर्च ब्वाइज यसअघि नै च्याम्पियन बनिसकेको छ । तालिकामा शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको २५ खेलमा ४५ अङ्क छ ।

यस्तै, च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । पुलिस २५ खेलमा ३८ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । सातदोबाटो २५ खेलमा ३५ अङ्कका साथ पाँचौँ स्थानमा छ । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया