अभ्यास खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

 जेठ २७, २०८० शनिबार ८:२४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोली र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जानेछ । जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल असार ५ मा अमेरिकासँग खेल्नेछ । त्यस्तै तेस्रो खेल वेस्टइन्डिजसँग असार ७ मा हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग असार ९ मा खेल्नेछ ।

समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । १३ देश सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेका आयोजक देश भारतसहित पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छनोट भईसकेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया