जाजरकोट र दाङमा डुबेर तीन जना बालकको ज्यान गयो, पाेखरी वरपर घेरबार नहुँदा जाेखिम बढ्दाे

 जेठ २७, २०८० शनिबार १०:५८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जाजरकोट र दाङमा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१३ मा खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई बालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा नरबहादुर बस्नेतका ८ वर्षका छोरा पाण्डव बस्नेत र टीकाराम बस्नेतका ९ वर्षका छोरा प्रमोद बस्नेत रहेका वडाअध्यक्ष यज्ञबहादुर बटालाले जानकारी दिनुभयो । उनीहरु हिजो स्कुल छुटेपछि पौडी खेल्न गएका थिए । भेरीको पानी लिफ्टिङ गरी खानेपानी र सिंचाईका लागि पोखरी बनाइएको थियो । वडाअध्यक्ष बटालाका अनुसार पानी पोखरीमा घेराबार थिएन । ४/५ वर्षदेखिको योजना रहेको र आउँदो आर्थिक वर्षमा सुरक्षित गर्ने कामका लागि योजना बनेको तर अहिले घटना भएको उहाँको भनाई छ । 

यस्तै दाङको देउखुरीमा रहेको राप्ती नदीमा डुबेर एक बालकको ज्यान गएको छ ।  लमही नगरपालिका–४ बुड्कवाका सुरेश चौधरीका १२ वर्षीय छोरा राहुल चौधरीको डुबेर ज्यान गएको  लमही–४ का वडाअध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभएको छ । 

पानीका मुहान सुक्न थालेपछि सिँचाइ र खानेपानीका लागि स्रोत बढाउन खनिएका पोखरी, आकाशे पानी संकलन गर्न बनाएका कृत्रिम पोखरीमा व्यवस्थित तारबार नलगाउने तथा असावधानीले डुबेर बालबालिकाले ज्यान गुमाउने घटना बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एंव जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले डुबेर बालबालिकाको मृत्यु हुने जोखिम बढेकाले रोकथामका लागि तत्काल सचेतनाका कार्यक्रम ल्याउने र समुदायमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया