'हाई मास्ट' र सडक बत्तीले मन्थली र बेथान झिलिमिली

 जेठ २९, २०८० सोमबार १३:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सुनापति गाउँपालिका–४ बेथानमा हाई मास्ट र स्मार्ट सडक बत्ती जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरूमा हाई मास्ट र सडकमा बत्ती राखेको छ ।

बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरू झिलिमिली बनेका छन् । मन्थली नगरपालिमा पर्ने झन्डै छ किलोमिटर सहरी क्षेत्रमा कम बिजुली खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त एक सय ७० वटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।

बसपार्क र बिनिता चोकमा १२ दशमलव ५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाई मास्ट लाइट जडान गरिएको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा तीन सय ३१ वटा स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः एक सय ४८ र एक सय ८३ वटा रहेका छन् । १२ दशमलव ५ मिटर अग्लो पोलमा तीन वटा हाई मास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत दुई करोड रुपैयाँ रहेको छ ।

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका मेयर लब श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । बेथानमा जडान गरिएको बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले बिजुली पुगेका ठाउँमा भइरहेको लोडशेडिङको अन्त्यपछि अहिले चाैबिसै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा बिजुली पुर्‍याउने काम अभियानकै रूपमा भइरहेको बताउनुभयो । ‘देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्ने, हिउँदमा मागअनुसार अपुग रहेको बिजुली पुग्ने गरी जलविद्युत् आयोजनाहरू बनाउने र बर्खायाममा देशभित्र खपत गरी बढी भएको बिजुली निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी रात्रिकालीन सौन्दर्यता बढाउने छ । सडक बत्तीकाे महसुल सम्बन्धित पालिकाहरूले तिर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट बिजुलीकाे महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय ठाउँहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । ठेक्का सम्झौताअनुसार सडक बत्ती नियमित मर्मत पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्ने छ । पोल, तार, बत्तीलगायतका संरचनाहरू प्राधिकरणकै स्वामित्वमा रहने छन् ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, बिजुलीकाे माग बढ्ने र रातिको खेर जाने बिजुली पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया