पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँछाैँ : मन्त्री बस्नेत

 असार १८, २०८० सोमबार २०:४२:४८ | रासस
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ ।

लोक सेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका स्टाफ नर्सलाई सम्बोधन गर्दै उहाँले आउँदो पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्‍याउन प्रयत्न भइरहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘संविधानले नागरिकका लागि सुनिश्चित गरेको औषधि उपचार पाउनुपर्ने दायित्व पूरा गर्न सरकार दृढ छ, यस क्षेत्रमा देखिएका कमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्छ ।’

स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएको पद र जिम्मेवारी रहेको बताउँदै उहाँले उपचारसँगै बोली र व्यवहारले पनि बिरामीले सहजता महसुस गर्ने हुँदा त्यसतर्फ विशेष ध्यान पुर्‍याउन सुझाव दिनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा स्टाफ नर्सको धेरै ठूलो जिम्मेवारी, भूमिका र दायित्व छ, मानवीय सेवाभावका हिसाबले भगवान्कै जस्तो भूमिका छ ।’

स्वास्थ्य क्षेत्रका जनशक्तिप्रतिको दायित्व पूरा गर्दै उत्साहित तुल्याउन सरकार कटिबद्ध रहेको बताउँदै उहाँले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने घोषणा गर्नुभयो । 

मन्त्रालयका सचिव डा. रोशन पोखरेल र देवकुमारी गुरागाईंले नवनियुक्त दुई सय ९५ जना स्टाफ नर्सलाई सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न निर्देशन दिँदै बधाई ज्ञापन गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया