पाँच दिनदेखि फोहर बञ्चरेडाँडा लैजान नसक्दा सडकमा दुर्गन्ध फैलिँदै

 साउन ५, २०८० शुक्रबार ७:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - आज पनि काठमाण्डौबाट फाेहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फाेहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।

काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फाेहर बोकेका गाडी राेकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फाेहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फाेहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फाेहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।

काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फाेहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ महानरभित्र मात्रै दैनिक साढे ६ सय टन फाेहर निस्कन्छ । सहमति पछि पनि फाेहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उहाँको भनाइ छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फाेहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने  जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फाेहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको उहाँको भनाइ छ ।

स्थानीयबासिन्दाले भने सरकारले फाेहरको राम्रो व्यवस्थापन नगरेसम्म अवरोध नहट्ने बताएका धादिङको धुनिबेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । उनीहरुले फोहरलाई पूरै माटोले छोप्न र दुर्गन्ध फैलिनबाट रोकेपछि मात्रै फोहर लैजान दिने बताएका नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले  बताउनुभयो । फाेहरको विषयलाई लिएर गएको १ गतेदेखि नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दा आन्दोलनमा छन् ।

अस्ति दुर्गन्ध हटाइ फाेहर छोप्ने मौखिक सहमति भएर आन्दोलन रोकेको भनिए पनि फाेहर व्यवस्थापनका लागि काठमाण्डौबाट गाडी जान सकेका छैनन् ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया