पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडक खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अन्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ ।
सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ । पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो । उहाँले भन्नुभयो, ‘मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुवैतर्फको सडक छुट्टाउनेछ ।’
पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्को तर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुई तर्फको लेन छट्टिनेछ । सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा. जैसीले बताउनुभयो । चक्रपथको पहिलो खण्डमा ठाउँठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ । विभागले दुई तीन ठाउँका चोकमा अन्डरपास र ओभरपास लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न यी संरचनाका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । प्रमुख डा. जैसीले भन्नुभयो, ‘त्यो अनुरोध उनीहरूले मौखिक रूपमा स्वीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।’
सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अन्डरपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाह्रो हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भन्नुभएको छ ।’
चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीन वटा मात्रै आकाशे पुल बनाएको थियो । त्योमात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ ठाउँमा आकाशे पुल निर्माण गरेको थियो । यो खण्डमा भने यात्रुले सडक पार गर्न के बनाउने भनी अध्ययन गरेर तय गरिने चिनिँया पक्षको योजना रहेको प्रमुख डा. जैसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ट्राफिक सर्वेक्षणअनुसार कहाँबाट मानिस हिँड्छन् भन्ने हेरेर गरिनेछ ।’
पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो । सडक निर्माणका क्रममा काम गर्ने ठाउँ खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।
पाइपलाइन, बिजुलीका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो । चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । त्यही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेरमात्रै निर्माण शुरु गरिएको विभागले बताउँदै आएको छ ।
कोटेश्वर–कलङ्की सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो ।
चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाण्डौ गरी दुबै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाण्डौमा मात्रै रहेको छ ।
चिनियाँ पक्षसँग पहिले चावहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो । स्वयम्भू, महाराजगञ्जलगायत ठाउँमा निर्माण स्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।