सबै प्रदेशकाे नामकरण पहिचानकाे आधारमा हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

 साउन २४, २०८० बुधबार २०:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशको नामकरण जातीय पहिचानको आधारमा हुनुपर्ने बताउनुभएको छ ।

विश्व आदिवासी दिवसको अवसरमा बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्न अहिले पनि आफूले प्रयास गरिरहेको बताउनुभएको हो । कोशी प्रदेशमा घटेको घटनाक्रमले एउटा नयाँ चेतना पैदा भएको उल्लेख गर्दै उहाँले त्यसैको बलमा सबै प्रदेशलाई पहिचानसहितको नामकरण गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । तत्काल यदि त्यसो हुन नसके आउँदाे २०८४ सालको चुनावमा पहिचानका पक्षधरहरूलाई मत दिएर जिताए संसदबाटै सबै प्रदेशको नामकरण पहिचानसहितको हुने उहाँले आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेश नामकरण भइसकेपछि चलिरहेकाे आन्दोलनको सन्दर्भमा आदिवासी, जनजातिलगायत विभिन्न सङ्–संस्थाका प्रतिनिधिले बालुवाटारमा आएर मलाई भेट्नुभएको थियो । पहिचान र अधिकारको नेता हुनुको नाताले मैले आदिवासी, जनजातिको पक्षमा निर्णय गर्नुपर्छ भन्ने दायित्व मलाई अवगत छ । अहिले पनि तपाईँहरूको जो चिन्ता छ, चासो छ । पहिचानको होस् भन्नेमा । सिद्धान्ततः हामी सबैसँगै छौँ । र यो छलफल चलिराखेको पनि छ । अब यही प्रयासबाट तपाईँहरूले भनेजस्तो गरी पहिचान आउने भए त त्यो त धेरै राम्रो भयो । मेरो प्रयास त्यतैपट्टि हुनेछ । भएन भने अघि शेर्पाजीले भनेको जस्तै २०८४ मा पहिचानका पक्षधरलाई तपाईँहरूले टन्नै मत हालिदिनु भयो भने सदनबाट नै त्यही पारित हुन्छ । मलाई विश्वास छ– काेशी प्रदेश नामकरणकाे घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ । र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरूको नामकरण गर्न सकिनेछ । त्यसको निम्ति पनि गम्भीररूपले विचार गर्न म तपाईँहरूसँग अपिल गर्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आदिवासी, जनजाति र मधेसी समुदायको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा दुई पटक दर्ता गराए पनि नेकपा एमालेका कारण पारित हुन नसकेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले कुनैपनि जाति, भाषा र संस्कृतिमाथि अपमानित हुने भाषा प्रयोग गरिए त्यो सह्य नहुने चेतावनीसमेत दिनुभयो । अधिवक्ता भगवती पाण्डेले जनजातिहरूमाथि अपमानित हुने भाषा प्रयोग गरेकाले सरकारले उहाँमाथि कारबाही प्रक्रिया अघि बढाएको समेत उहाँले बताउनुभयाे । प्रचण्डले राष्ट्र निर्माणमा निर्णायक भूमिका निर्वाह गर्दै आएको भन्दै आदिवासी जनजातिहरूको प्रशंसा पनि गर्नुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • subedi kamal

    Aug. 9, 2023, 8:21 p.m.

    नेपालमा १०० भन्दा बढि जात जाति को बसोबास छ ।कति जातिको नामबाट प्रदेश को नामाकरण गर्नुहुन्छ प्रधानमन्त्री ज्यु ?? जातको आधारमा प्रदेश होइन । शिक्षा स्वास्थ गाँस बास आदिको अधिकार सुनिस्चित गर्नुहोस तेसैमा सबैको हित हुनेछ

  •  0 Reply

तपाईको प्रतिक्रिया