एसियाली खेलकुद : ९० स्वर्णसहित चीनकाे वर्चस्व कायमै, नेपाल अझ...
असोज ११, २०८० बिहिबार
काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दले आज तीन स्रष्टाका तीन कृतिको विमोचन गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री चन्दले साहित्यकार मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, प्राडा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह विमोचन गर्नुभएको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगतमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले कथासङ्ग्रह, कवितासङ्ग्रह र जीवनसङ्ग्रह पठनीय रहेको उल्लेख गर्नुभयो ।
‘कथाकारको विशेषता भनेको सानो कुरालाई बढाएर लेख्ने हो,’ उहाँले भन्नुभयो । तीनवटै कृति गहिराइमा पुगेर लेखिएको पनि उहाँको भनाइ थियो ।
पूर्वअर्थमन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइरालाले प्राडा सविनाद्वारा लिखित पूर्वसचिव एवम् निर्वाचन आयोगका पूर्वआयुक्त विश्वमान श्रेष्ठका बारेमा लेखिएको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रहबारे बोल्दै विश्वमान सरकारको कुशल प्रशासक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वमानलाई बुझ्न चाहने नयाँ पुस्ताका लागि पुस्तकले सहयोग पुग्नेछ ।’
वरिष्ठ गीतकार कालीप्रसाद रिजालले प्राडा सृजनाद्वारा लिखित ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रहबारे बोल्दै मेडिकल क्षेत्रमा कार्यरत व्यक्ति साहित्यमा कलम चलाएर कवितासङ्ग्रह प्रकाशित गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो ।
उहाँले निरन्तर कृति प्रकाशित गर्नसमेत सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
साहित्यकार धुव्र मधुकर्मीले साहित्यकार मोतिशोभाको कृति ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रहबारे बोल्दै पुस्तकले नारी मनोविज्ञान, बाल मनोविज्ञान र समाजमा भोगिएका भोगाइलाई समेटेको बताउनुभयो ।