उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
डोटी – सुदूरपश्चिम प्रदेशमा अहिले प्राय रातोमाटो र कमेरोले सबैका घर चिटिक्क पोतिएका छन् । बाटोघाटो पानी पँधेराहरु सबै सफा गरिएका छन् । यसरी सजिएका घर देख्दा सबैको मन लोभिने गरेको छ । सहरमा भन्दा पनि गाउँमा भएका घरहरु सजिएका बढी भेटिन्छन् । गाउँमा अहिले निकै रमणीय वातावरण बन्दै गएको छ ।
वर्षातको समय भएकाले बाटोघाटो बिग्रिएको भए पनि अहिले गौरा पर्वका लागि आफ्ना माइती पोइली आउने/जानेहरु बाटोमा पनि बाक्लै भेटिन्छन् । गौरामा गाइने फाँग र रागहरुले त झन् गाउँ बस्तीको रौनक नै फेरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला र कर्णाली प्रदेशको जुम्ला, हुम्ला, कालीकोट क्षेत्रमा अहिले गौरा पर्वको रौनक धुमधामसँग लागेको छ ।
भाद्र शुक्ल पञ्चमीको दिन बिरुडा भिजाएर गौराको शुभारम्भ भएको मानिन्छ भने सप्तमीको दिन गौरा भित्राउने चलन छ । कुश, धान, साउँ, अपामार्ग, तिल लगायत विभिन्न नौ बोट बाट तयार गरिने गौरा पञ्चकन्या तथा व्रतालुहरुले विभिन्न बाजागाजा र फाग (मांगलिक गीत) गाएर टाउकोमा राखेर नचाउँदै गौरा घरमा भित्र्याउने चलन रहेको जोरायल गाउँपालिका–५ की दुर्गादेवी विष्टले बताउनुभयो।
उहाँका अनुसार यसरी भित्र्याइएकी गौरा घर बेहुली जस्तै सजाइन्छ । गौरा भित्र्याउँदा बाजागाजाका साथ भित्र्याइन्छ । सप्तसती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सूक्ष्म रुपलाई हरियो घाँसमा छिपाइ भौतिक देह विसर्जन गरेकोले हरियो घाँसमा सतिदेवीको बास हुन्छ भन्ने मान्यता अनुसार घाँसको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा भएको दिपायलका स्थानीयवासी तथा पूर्व नगरप्रमुख घनश्याम पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा गौरा पर्व धार्मिक भावनाबाट मात्र प्रेरित नभइ आपसी सद्भाव सहअस्तित्वको विकास गरी सामाजिक जीवन जिउन सिकाउने पाठशाला समेत बनेको छ ।’
गौरा भित्र्याएको दोस्रो दिन महेश्वरसँग धुमधामसँग विवाह गरिन्छ । गौराको व्रत बस्ने महिलाहरुले प्रसादको रुपमा घाँटीमा दुवाधागो (मन्तरेको धागो) बाँध्ने गर्छन् ।
अन्यलाई बिरुडा प्रसादको रुपमा दिने गर्दछन् । यस पर्वको प्रमुख प्रसाद बिरुडा (क्वाँटी) हो । पञ्चमीका दिन बिरुडा भिजाइन्छ षष्ठीका दिन धुने र गौराको समयमा खाने गरिन्छ र घर बाहिर बसेका सदस्यलाई समेत पठाउने चलन रहेको दिपायल पिपल्लाकी स्थानीय खेमादेवी विष्टले जानकारी दिनुभयो ।
डा.आरडी प्रभात चटौत ‘प्रभात’ को बृहत डोट्याली शब्दकोषमा उल्लेख भए अनुसार हिमालय राजकी छोरी पार्वती विवाह योग्य भएपछि छोरीको लागि वर खोज्दै हिँडे ।
छोरीको विवाह सूर्यसँग गर्दा जलेर मर्ने, चन्द्रमासँग विवाह गर्दा आयु छोटो, ब्राह्मणसँग बिहे गर्दा ब्राह्मण पूजापाठमा व्यस्त हुने र छोरी भोकले मर्ने, महेश्वरसँग विवाह गर्दा भाङ, धतुरो खाने भनेर अलमलमा परे त्यसपछि छोरीको सल्लाह अनुसार महेश्वरसँग नै विवाह गर्ने निर्णय भयो र यही विवाहको लगनको रुपमा गौरालाई लिइन्छ ।
पाँच सात दिनसम्म खेलमाल गरी मनाइने यस चाडमा चैत्, ढुस्का, धुमारी, तुलसीका गीत तथा विभिन्न डेउडा गीत गाएर खेल खेलिन्छ ।
दशैँ तिहार भन्दा बढी महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयामा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाएर खेलाउन पाउने पण्डित मेखराज भट्टले बताउनुभयो ।
भारत उत्तराखण्डको पिथौरागढ, गढवालमा पनि गौरा खेलिन्छ । अचेल यहाँका पहाडी जिल्लाबाट बसाइँ सरेर कैलाली कञ्चनपुरमा गएका समुदायले समेत हप्ताभरी नै गौरा खेल्ने गर्छन् ।
गौरालाई सुदूरपश्चिमेलीहरुको ठूलो पर्वका रुपमा लिने गरेका छन् ।
गौराको समयमा कामका लागि बाहिर गएका घर फर्किने र गच्छे अनुसारको मिठो मसिनो खाने र राम्रो नयाँ लुगा लगाउने चलन रहेको छ ।
गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झैँ गरी बाजा गाजा र फाँग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ ।
गौरा विसर्जन नगरुञ्जेलसम्म धुमधामसँग देउडा खेल्ने चलन रही आएको स्थानीयवासीहरु बताउँछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।