धादिङ : दुर्घटना कम गर्न विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै

 भदौ २८, २०८० बिहीबार ९:२८:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

धादिङ - राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना कम गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो । 

साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जीवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ ।

'राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ', प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, 'सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैद्धान्तिक र व्यावहारिक रुपमा ज्ञान दिइएको हो ।'

विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखुलगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, गाडीको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ ।

चाडपर्व नजिकिएसँगै राजमार्गमा गाडीको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्नाभिन्नै कार्यक्रम गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया