इजरायल–प्यालेस्टिन युद्धमा दुवैतर्फ गरी ८ सय जनाभन्दा धेरैको ज्यान गयो

 असोज २१, २०८० आइतबार १८:५२:५८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ ।

हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै दुई हजार जनाभन्दा धेरै घाइते भएका छन् । कैयौँ इजरायलीलाई हमास विद्रोहीले बन्धक बनाएका छन् । इजरायली सेनाले पनि जवाफी कारबाहीमा चार सय जनाभन्दा धेरै विद्रोही मारिएका बताएको छ ।

हिजो बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।

यसैबीच इजरायली सेनाले गाजाको सीमा नजिकका शहरहरूमा बस्ने सबै बासिन्दालाई आउँदो २४ घण्टाभित्र अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको सेनाले जनाएको छ । यस्तै हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण शुरु गरेको छ ।

इजरायल–प्यालेस्टिन युद्धलाई लिएर आज आइतवार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले माध्यमबाट सहयोग गर्ने प्रस्ताव गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिनुभएको छ । उहाँले गाजाका बासिन्दालाई आफ्नो घर छोडेर शरण लिन भन्नुभएको बीबीसीले जनाएको छ । इजरायलले गाजा क्षेत्रमा विद्युत्, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया