इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार, शव पनि चाँडै ल्याउने तयारी

 असोज ३०, २०८० मंगलबार १९:५७:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सरकारले इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टीनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १८ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ ।

आज (मङ्गलवार) उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै भोलि (बुधवार) कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभयो । आज नेपाल आउन लागेकामध्ये चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा इजरायल गएका नेपाली रहेका छन् ।

सरकारले यसअघि नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना नेपालीको उद्धार गरेको थियो । पढाइ र रोजगारीका लागि इजरायलमा झन्डै पाँच हजार जना नेपाली रहेकामा पाँच सय तीन जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका छन् ।

यसैबीच इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रमा नेपाल पठाइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर दुई/तीन दिनमा नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ ।

गएको शनिवार हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये पाँच जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया