भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो

 कात्तिक ३, २०८० शुक्रबार १४:२६:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

क्यानाडा र भारतबीच चलिरहेकाे कुटनीतिक तनावका बीच क्यानडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बाेलाएकाे छ ।

दुई देशकाे कुटनीतिक तनावका बीच क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञ र उनीहरूको परिवारका ४२ जना सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ ।

दुई देशबीच चलिरहेकाे कुटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानाडाली कुटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानडेली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।

मन्त्री जोलीले ‘भारतसँगको स्थिति’ माथि विकसित घटनाक्रमबारे घोषणा गर्दै कुटनीतिज्ञहरूको फिर्तीपछि क्यानाडाले दिने सेवा वितरणमा यसको कस्तो प्रभाव पर्नेछ भन्नेबारे जानकारी गराउनुभयो । 

‘भारतको यो निर्णयले दुवै देशका नागरिकलाई सेवाको स्तरमा कुनै असर पर्ने छैन । दुर्भाग्यवश हामीले चन्डीगढ, मुम्बई र बेङ्गलोरमा हाम्रा वाणिज्य दूतावासका सबै व्यक्तिगत सेवा रोक्नुपर्‍याे’, उहाँले भन्नुभयो, ‘कन्सुलर सहयोग आवश्यक पर्ने क्यानडेलीले अझै पनि दिल्लीमा रहेकाे हाम्रो उच्च आयोगमा जान सक्नुहुन्छ, तपाईँले अझै पनि फोन र इमेलमार्फत व्यक्तिगत सेवा लिन सक्नुहुन्छ ।’

क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्या भएयता दुई देशकाे सम्बन्ध चिसिएकाे छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीच तनाव बढेको हाे । भारत सरकारले भने शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।

निज्जर हत्या प्रकरणले भारत र क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै नराम्रो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया