एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने

 कात्तिक २०, २०८० सोमबार १६:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज सोमवार बसेको पार्टीकाे सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभयो ।

यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाका अनुसार त्याे कार्यदलको संयोजक पार्टीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का, पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी तथा रुकुम पश्चिम र जाजरकोटका पार्टी अध्यक्षहरू रहने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनुभयो । उहाँले त्याे अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनुभयो ।

बैठकले पार्टीको महाधिवेशन आउँदाे माघमा काठमाण्डाैमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि मङ्गलवार पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।

अन्तिम अपडेट: भदौ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया