अहिले चुनावकाे समय होइन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

 कात्तिक २१, २०८० मंगलबार १४:६:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चुनावका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताउनुभएको छ । सन् २०२४ मा राष्ट्रपति चुनावका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध जुटेको युक्रेनमा चुनाव गर्ने सही समय नभएको उहाँको भनाइ थियो ।

गएको वर्ष द्वन्द्व शुरु भएदेखि मार्सल लअन्तर्गत आउँदो वसन्तमा हुने राष्ट्रपति चुनावसहित सबै चुनाव प्राविधिकरूपमा रद्द गरिएको छ । ‘अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र नागरिकको भाग्य निर्भर छ’, आफ्नो दैनिक सम्बोधनमा उहाँले भन्नुभयो । 

उहाँले देशलाई विभाजित गर्ने नभएर एकताबद्ध हुने समय भएको बताउँदै भन्नुभयो, ‘अहिले चुनावका लागि सही समय होइन भन्ने मेरो विश्वास छ ।’

युक्रेनमा रुसी सेना पसेसँगै युक्रेनी सेनाले जवाफी हमला गरे पनि युद्धरत दुवै पक्षबीच सीमा रेखा झन्डै एक वर्षदेखि स्थिर रहेको छ । युक्रेनका प्रमुख सहयोगी अमेरिका र युरोपका अधिकारीहरूले २० महिनादेखि जारी सङ्घर्ष अन्त्यका लागि कुराकानी गर्न सुझाव दिएको बताइएको छ । 

तर युक्रेनको जवाफी हमलामा गतिरोध उत्पन्न भएको वा पश्चिमी देश वार्तामा प्रवेश गर्न किएभतिर फर्केको भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गर्नुभएको छ । अमेरिका र अन्य सहयोगीहरूले आवश्यकता भएसम्म रुसलाई पराजित गर्न किएभलाई सैन्य र वित्तीय सहयोग जारी रहने सार्वजनिकरूपमा भन्दै आएका छन् । अक्टोबर ७ मा इजराइलमाथि हमासले आक्रमण गरेपछि विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएसँगै जेलेन्स्की तीव्र दबाबमा पर्नुभएको छ । 

सन् २०१९ को चुनावबाट निर्वाचित राष्ट्रपति जेलेन्स्कीले आवश्यक परेको अवस्थामा आउँदो वर्ष राष्ट्रिय चुनाव गराउन आफू तयार रहेको सेप्टेम्बरमा बताउनुभएको थियो । उहाँले चुनावका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुमति दिने पक्षमा आफू रहेको समेत उल्लेख गर्नुभएको थियो । 

विदेशमा ठूलो सङ्ख्यामा युक्रेनी र युद्ध मोर्चामा लडिरहेका सैनिकका कारण चुनाव गराउन तार्किकरूपमा कठिन हुनसक्छ । युद्ध शुरु भएपछि जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन उच्च थियो तर युद्धमा एकताबद्ध शक्ति भए पनि देशको राजनीतिक परिदृश्य अस्थिर भएको छ । 

रुसविरुद्ध जवाफी हमला सुस्त गतिमा भएकोमा जेलेन्स्कीको आलोचना गरेपछि राष्ट्रपतिका पूर्वसहयोगी ओलेक्सी एरोस्टोभिचले आफ्ना पूर्वप्रमुखसँग चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया