इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

 मंसिर ७, २०८० बिहिबार १६:३५:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रवारसम्म शुरु नहुने बताएको छ । इजराइलको यो भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । 

इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीवार यस्तो नहुने सङ्केत गर्नुभएको छ ।  

‘हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ’, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, ‘रिहाइको शुरुवात पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रवारभन्दा पहिला हुनेछैन ।’

अर्का इजराइली अधिकारीले युद्धमा अस्थायी रोक बिहीवार पनि शुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजावासीका लागि ठूलो झड्का हो ।

जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजराइल र हमास चार दिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकु समूह हमासले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिने छ ।  

रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा थप एक दिनको ‘विराम’ हुने इजराइली  सरकारले एक दस्तावेजमा बताएको छ । रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् । 

बदलामा इजराइलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ ।

इजराइल, प्यालेस्टिनी लडाकु समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै हप्ताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन । कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीवार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मकरूपमा भइरहेको’ बताउनुभयो । ‘अबको केही घन्टामा युद्धविराम सम्झौताको टुङ्गो लगाइने छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया