राति जहाजबाट उपत्यका हेर्दा जुन सहर उज्यालो हुन्छ त्यही हाे ललितपुर : मेयर महर्जन

 मंसिर १५, २०८० शुक्रबार १०:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुरमा जडान गरिकाे स्मार्ट बत्ती

ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रातकाे समयमा जहाजमा चढेर काठमाण्डाै उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताउनुभएकाे छ ।

बिहीवार बेलुकी ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा मेयर महर्जनले भन्नुभयो, ‘रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाण्डाै उपत्यकामा उज्यालाे देख्नुभयाे भने त्याे ललितपुर महानगरपालिका हो । जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’

ललितपुरमा बिहीवार एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीकाे उद्घाटन भएकाे थियाे । दाेस्राे चरणअन्तर्गत ललितपुरकाे भैँसे, खाेकना, बुङ्गमती, धापाखेल, सुनाकाेठी र हरिसिद्धीमा स्मार्ट बत्ती जडान भएकाे हाे । महानगरले यसअघि पहिलाे चरणमा कुपण्डाेल, जावलाखेल, लगनखेल, सातदाेबाटाे, एकान्तकुना, मङ्गलबजार, पाटन ढाेका क्षेत्रमा छ सय ६९ वटा स्मार्ट बत्ती जडान गरेकाे थियाे ।

मेयर महर्जनले रातकाे समयमा हुने दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गर्ने बताउनुभयाे । उहाँले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जना र धोबीघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिनभित्र बत्ती बाल्नका लागि टेन्डर आह्वान गर्ने बताउनुभयाे । उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने कुराको अन्त्य गर्न महानगर लागिपरेको उहाँकाे भनाइ छ ।

मेयर महर्जनले सडकमा स्मार्ट बत्ती बाल्नका लागि महानगरले यस वर्ष तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको र एक करोड २० लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणको सहयोग हुँदा चार करोड २० करोड रुपैयाँ पुगेकाे बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया