राष्ट्रिय सभा चुनावको लागि दल दर्ता गर्ने समय मंसिर २४ देखि २९ गतेसम्म

 मंसिर १५, २०८० शुक्रबार १७:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावकाे कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धी सूचना प्रकाशित गर्नेगरी चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । 

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते दल दर्ताका लागि सूचना प्रकाशित हुनेगरी मंसिर २४ गते चुनावको कार्यतालिका स्वीकृत गरी शुक्रवार आज सार्वजनिक गरिएको जानकारी दिनुभयो । 

उहाँले दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकिएको बताउनु भयो । पौष १ गते ती दलहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ । निर्वाचन आयोगका अनुसार पौष ४ गते दर्ता भएका दलहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

पौष १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा चुनाव अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आयोगका प्रवक्ता पौडेलले पौष २० गतेदेखि २९ गतेसम्म राष्ट्रिय सभा सदस्यको चुनाव कार्यक्रम हुन्छ । 

उहाँले मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यो माथि दाबीविरोध, उजुरीहरु लिने, अन्तिम नामावली प्रकाशित गरिने बताउनु भयो । मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरु त्यस अवधिमा हुने पनि प्रवक्ता पौडेलले बताउनु भयो । कार्यतालिकाअनुसार चुनाव अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकूल हुनेगरी मतदानस्थल तोक्नेछ । माघ ११ गते बिहान नौ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुनेछ ।

चुनावकाे कार्यतालिकाअनुसार मतदानस्थलमा दुई वटा मतदान केन्द्र हुनेछ । प्रदेश सभा सदस्यहरुले मतदाता गर्ने मतदान केन्द्र हुन्छ । अर्को पालिकाको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षले मतदान गर्ने मतदान केन्द्र हुने व्यवस्था गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताउनु भयो ।

निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रिय सभा चुनावको मतभार पनि परिवर्तन गरेको छ । राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेश सभा सदस्यको हकमा ५३ र पालिका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार रहने गरी आयोगले निर्णय गरेको पनि प्रवक्ता पौडेलले बताउनु भयो ।

फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया