जाजरकोट भूकम्पको एक महिना : पीडितलाई चिसोले सताउँदै, अस्थायी आवास निर्माणमा ढिलाइ

 मंसिर १७, २०८० आइतबार ७:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएका छन् । ३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुन:स्थापनामा त्यति प्रभावकारी काम गर्न सकेको छैन । 

भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा परेका छन् । यसबाट सबैभन्दा धेरै जोखिममा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका परेका छन् । जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति गर्‍याे ।

भूकम्पमा जोगिएकाहरुलाई यतिबेला चिसोले सताउन लागेको छ । झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । मुटु रोगी, दम, रक्तचाप र मधुमेहका बिरामीको अवस्था कमजोर बन्दै गएको छ । पछिल्लो विवरणअनुसार जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ गरी २२ जनाले चिसोबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी छन् ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी समस्यामा परेको बताउनुभयो । भूकम्पमा परेर एक सय ५४ जनाले ज्यान गुमाएका थिए । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने सुरसार बल्ल सुरसार हुँदैछ । अस्थायी घर बनाउन सरकारले ढिलासुस्ती गरिरहँदा मुख्य दलहरुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाएका छन् ।

अरु दलहरु पनि राहतका कार्यक्रम लिएर भूकम्प पीडितकोमा पुगेका छन् । भूकम्प पीडितको लागि सरकार र विभिन्न राजनीतिक दलहरु एक भएर तत्काल अस्थायी आवास र त्यससँगै स्थायी पुनर्निर्माणमा जुट्नुपर्नेमा जाजरकोटका स्थानीयबासिन्दासमेत रहेका इञ्जिनियर निरज शाहको जोड छ । अस्थायी आवास तथा पुनर्निर्माणमा हुने ढिलासुस्तीले थप समस्या र जोखिम निम्तिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया