गौतमबुद्ध क्रिकेट रङ्गशालामा अब नियमित खेल हुन्छ : मेयर दाहाल

 मंसिर १८, २०८० सोमबार १६:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताउनुभएको छ ।

बाग्मती प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै मेयर दाहालले रङ्गशालाको अभ्यास मैदानमा नियमित खेल हुने बताउनुभयाे । नियमित खेल गतिविधि गर्न सङ्घ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने उहाँकाे भनाइ छ । 

क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माणका लागि ७० प्रतिशत बाग्मती प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहाेर्ने सहमति भएको छ । पहिलो चरणमा ७५ करोड रुपैयाँको काम हुने जनाइएको छ ।

‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन’, मेयर दाहालले भन्नुभयो, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण शुरु गर्ने गरी टेन्डरकाे काम हुँदैछ ।’

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सचिव एवम् बाग्मती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतमबुद्ध क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै गएकाे बताउनुभयाे । अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर दाहालले अग्रसरता लिएकाेमा प्रशंसा गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री कपका लागि भएको बाग्मती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाण्डौले जितेकाे छ । ललितपुरलाई ४ विकेटले हराउँदै काठमाण्डाै क्रिकेट सङ्घले उपाधि जितेकाे हाे ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया