लालुपाते सहकारीको बचत ठगीसम्बन्धी कसुरमा ४ जना पुर्पक्षका लागि कारागार चलान

 मंसिर २२, २०८० शुक्रबार ६:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेलमा रहेकाे लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसुरमा चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीको बचत ठगीसम्बन्धी कसुरमा ३५ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएकोमा चार जना प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

अदालतको आदेशमा बिहीवार सहकारीका अध्यक्ष अनिल जोशी (मृतक) का भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ, तत्कालीन प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल पुर्पक्षका लागि कारागार चलान भएका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभयाे ।

यस प्रकणमा ५ जना प्रतिवादी धरौटीमा छुटेका छन् । स्रेस्तेदार खड्काका अनुसार सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य जनही १०/१० लाख तथा सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई ५/५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

बचतकर्ताको लगानी अपचलन भएको विषयमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका अध्यक्ष जोशी (मृतक) तथा उनका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम जिल्ला अदालतमा मङ्सिर १३ गते अभियोग पत्र दायर भएको थियो । 

सयौँ बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारी सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो । यस्तै सहकारीका अध्यक्ष अनिलका भाइ सुनिल र सुनिलकी श्रीमती रविनालाई गएकाे असोज १३ गते तथा तत्कालीन प्रबन्धक जोशी असोज १७ गते काठमाण्डाैबाट पक्राउ परेका थिए । अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी पौडेल गएकाे कात्तिक १५ गते चितवनबाट पक्राउ परेकी थिइन् ।

सहकारीका २ सय ६५ जना बचतकर्ताले ३५ जना प्रतिवादीबाट ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो माग दाबी गरेका छन् । बचतकर्ताले ८ सयदेखि ५५ लाख रुपैयाँसम्म बचत फिर्ताका लागि निवेदन दिएको प्रहरीले जनाएको छ । बचत डुबाइदिएको भन्दै बचतकर्ताले पहिलोपल्ट २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका ५ सदस्यसहित ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसको केही समयपछि सञ्चालक र केही ऋणीविरुद्ध पनि बचतर्कर्ताले जाहेरी दिएका थिए ।

२०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।

प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा चार करोड ४७ लाख छ हजार नाै सय ६७ रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाख रुपैयाँसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको छ । चार जनालाई तमसुकविना नै ऋण दिएको पाइएको छ । सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा परेकाे देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेनु कार्कीले बताउनुभयाे । सहकारीको निक्षेप चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार पाँच सय ६४ रुपैयाँ देखिन्छ । यस्तै चार करोड ९० लाख ९७ हजार तीन सय ९३ रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

सहकारीको नाममा हलेसीमा ४८ लाख रुपैयाँमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाइको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ ।

बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । डुबेको सावाँ र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।

लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले १० लाख, निकिता राईले दुई लाख, नवराज थापाले एक लाख ५० हजार, राजन सैंजूले एक लाख ३५ हजार र इन्द्र श्रेष्ठले ३१ हजार रुपैयाँ ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया