बैंकहरू मिटरब्याजी जस्ताे हुनु हुँदैन : अध्यक्ष ओली

 मंसिर २४, २०८० आइतबार १६:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आज आइतवार नुवाकोटमा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले बैंकहरूले साहु तथा मिटरब्याजीको जस्तो निर्मम तरिकाले नभएर विकासका लागि सहयोगी र अनुकूल संस्थाको रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले बैंकहरूले जुन सर्तमा व्यवसायीलाई ऋण दिएको हो त्यो सर्त पालना गर्न पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । उहाँले अफ्ठ्यारोमा परेका व्यवसायीलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बैंकहरूले जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ । कुनै कारणवश त्यो सर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर घट भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढ मात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई एकल अङ्कमा ल्याउनुपर्छ । अलिकति म्याद थप गरेर अप्ठ्याराेमा परेका उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्छ  ।’

अध्यक्ष ओलीले अहिले नेपालले विकासमा फड्को मार्न चाहेको र यस्तो अवस्थामा जसले सस्तोमा पूर्वाधारहरू बनाइदिन्छु भन्छ उसैलाई बनाउन दिनुपर्नेमा जोड दिनुभयो । जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रा सामान किन्छ उसैलाई बेच्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया