विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारको प्रतिक्रिया

 मंसिर २५, २०८० सोमबार १८:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – इजरालयमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपालका विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतार सरकारले जनाएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले गरेको शिष्टाचार भेटवार्तामा जोशीको रिहाइबारे कुराकानी भएको छ । कतारको राजधानी दोहामा उहाँहरूबीच आज साेमवार शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गर्नुभएको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको मित्रवत् सम्बन्धका आधारमा यो मानवीय मामिलामा कतारसँग नेपाल सरकारले उच्च आशा गरेको बताउनुभयो ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभएको थियो । उहाँले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गर्नुभयो ।

हिजो आइतवारदेखि शुरु भएको २१ औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा पनि जोशीको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको थियो । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास भैरहेको जवाफ दिनुभएको थियो ।

कतार जानुअघि पनि परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गर्नुभएको थियो । रिहाइका लागि सरकारले पटक–पटक आग्रह गरे पनि जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायल–हमासबीच यसअघि भएको अस्थायी युद्धविराममा केही बन्दी छाडिए पनि जोशीको रिहाइ भएन । सरकारले आश्वासन मात्रै दिएको भन्दै जोशीका परिवार चिन्तित छन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया