जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक

 मंसिर २७, २०८० बुधबार ६:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु भएको छ । त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ । 

विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गराइएको छ । यस्तै, दोस्रो दिन आज फूलबारी लीला, तेस्रो दिन भोलि धनुष यज्ञ, चौथो दिन शुक्रवार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । 

महोत्सवको अन्तिम दिन आउँदो पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ । अयोध्या नरेश दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी रङ्गभूमि मैदानमा पुर्‍याइन्छ ।

यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रङ्गभूमि मैदानमा पुर्‍याइन्छ । भगवान रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सकिने धार्मिक परम्परा छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया