चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।
गए राति भएको मतदानमा राष्ट्रसङ्घका एक सय ९३ वटा सदस्य राष्ट्रमध्ये अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । बेलायतसहित २३ देशले मतदानमा भाग लिएनन् । महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ ।
इजरायलमा अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ । नेपालले जोशीलाई छुटाउन कुटनीतिक पहल भइरहेको बताउँदै आएको छ । पहलकै क्रममा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले अस्ति साेमवार मात्रै कतारका प्रधानमन्त्री र त्यसअघि परराष्ट्रमन्त्रीसँग भेट गर्नुभएको थियो । जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताउनुभएको छ ।
यसअघि एक हप्ता लामो अस्थायी युद्धविरामका बेला हमासले बन्धक बनाएका झन्डै दुई सय ४० मध्ये विभिन्न देशका एक सय जनाभन्दा धेरैलाई रिहा गरेको थियो । विदेशीमध्ये थाइल्यान्डका सबैभन्दा धेरै २३ जना मुक्त भएका थिए । हमास लडाकु समूहबाट भएको आक्रमणमा १० जना नेपालीले पनि ज्यान गुमाएका थिए । गाजामा इजरायलले गरेको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म १८ हजार चार सय जनाभन्दा धेरैले ज्यान गुमाएको विवरण छ ।
यसअघिको अस्थायी युद्धविरामका क्रममा जोशीलाई रिहा गराउने प्रयास असफल भए पनि नेपालले कतार र इजिप्टमार्फत पहल गर्दै आएको छ । कतारले इजरायल र हमासबीच फेरि युद्धविराम गराउने पहल गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।