प्रदेशलाई अधिकार नदिए कांग्रेसले सिंहदरबार घेर्छ : महामन्त्री शर्मा

 पुस ७, २०८० शनिबार १७:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

आज शनिवार पार्टीकाे बाग्मती प्रदेश सम्मेलनकाे उद्घाटन गर्दै महामन्त्री शर्माले पार्टीकाे प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेशले राखेका मागहरू पूरा गर्न सङ्घीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन नआए त्याे बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संरचना बन्याे तर अधिकार नदिएकाे प्रदेशकाे गुनासाे छ । प्रदेशले मागेको के हो ? युरेनियम निकालेर ल्याइदिऊ भनेर प्रदेशले मागेको हो ? हिरा मोतीको खानी मागेको हो ? होइन । अन्तरिक्षयान बनाएर हाम्रो हातमा देउ भनेको हो ? होइन । प्रदेशले कानुन मागेको हो । अधिकार मागेको हो । त्यो दिन सकिन्छ कि सकिँदैन ? त्यो दिन नसकिने कारण के छ ? त्यसैले म मधेस प्रदेशको सभापतिजीको अभिव्यक्तिप्रति म समर्थन जनाउँदै भन्न चाहन्छु, उहाँले मधेस प्रदेशमा बोल्दा पनि भन्नुभयो । प्रदेशलाई अधिकार चाँडो दिनेगरी निजामतीसम्बन्धी, लोकसेवासम्बन्धी, आर्थिकसम्बन्धी, प्रहरीसम्बन्धी कानुन दिनुपर्छ । कांग्रेस महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने त्यही बैठकबाट निर्णय गरेर हामी आफैँ सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ ।’

महामन्त्री शर्माले रुस–युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पुर्‍याउनेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले युद्धमा ज्यान गुमाएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया