विद्यार्थीकाे प्रश्न– ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश पठाउन ?’

 पुष १३, २०८० शुक्रबार ११:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् ।

आज शुक्रवार काठमाण्डाैमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरूले विश्वविद्यालय सुधारकाे माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् । उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

विश्वविद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरूमा पठनपाठनको अवस्था निराशाजनक रहेकाे बताउनुभयाे । उहाँले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके उनीहरू अझै धेरै विदेश जाने सम्भावना रहेको बताउनुभयो । विश्वविद्यालयहरूमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्त हुन नसकेको समस्यालाई हटाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस शुरु गरेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयहरूमा विद्यार्थीहरूले आशा गरेअनुसारकाे पढाइ भइरहेकाे छैन । समयमै परीक्षा नहुने, परीक्षा भइसकेपछिको नतिजा समयमै प्रकाशित नहुने समस्या छ । नेपाली समाजले खोजेको शिक्षा प्रणालीअनुसार पढाइ हुन जरुरी छ । त्यो सुधारका लागि हाम्रो आन्दोलन हो । पछिल्लो आठ महिनामा ७१ हजार छ सय जना विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । यो तथ्याङ्क हेर्दा नेपालमा विश्वविद्यालयहरूको अवस्था डरलाग्दो छ । यही गतिमा गयो भने हाम्रो विश्वविद्यालयहरूमा अबको पाँच वर्षमा विद्यार्थीहरू टर्च बालेर खोज्नुपर्छ । विद्यार्थीहरूलाई रोजगार र गुणस्तरसँग जोड्न सकिएन भने पढ्नका लागि बाहिर जाने सम्भावना हुन्छ ।’

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरूले विश्वविद्यालयहरूलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालयहरू विषयगत हुनुपर्ने बताए । उनीहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश पठाउन भन्दै प्रश्न पनि गरेका छन् ।

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया