बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका युवाको ज्यान गयो, ५४ जना पक्राउ

 पुष १३, २०८० शुक्रबार १४:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुजन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।

युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको उहाँले बताउनुभयो । केही प्रहरी  र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताउनुभयो । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको छ ।

आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ । पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।

इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया