भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण व्यवसायीले समयमै काम नगर्दा सुस्त गतिमा निर्माण भइरहेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो ।
निर्माणको जिम्मा पाएको मुख्य कम्पनीको सक्रियतामा काम नभइ पेटी ठेकेदारमार्फत काम गरिएकाले निर्माणले गति लिन नसकेको वडा नम्बर १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताउनुभयो । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागको आयोजनामा आवश्यक जग्गा खरिद गरी करिब साढे दुई वर्षअघि काम थालिए पनि जग्गाधनीको अवरोधका कारण एक वर्ष काम रोकिएको थियो।
चिनियाँ कम्पनीले निर्माणको ठेक्का पाएको जनाउँदै वडाध्यक्ष जिम्बाले पछिल्लो समय पेटी ठेकेदारमार्फत काम गराउँदा कामको प्रगति हुन नसकेको बताउनुभयो । ठेकेदारको निष्क्रियता, काममा लगाइएका मजदुरको पारिश्रमिक नदिनेलगायत गुनासो आउने गरेका उहाँको भनाइ थियो ।
गाउँपालिकाभित्र केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि दैनिकी सहज हुने स्थानीय बताउँछन् । स्थानीय बासिन्दा रिजन मगरले विद्युत् प्रसारण लाइन गाउँमा पुगेपछि पिलपिले उज्यालोमा जीवन गुजार्दै आएका नागरिकले उज्यालोमा दैनिकी चलाउन पाएको बताउनुभयो । विकट भनेर चिनिएको गाउँमा बिजुली विस्तार भएपछि यहाँका नागरिकलाई मकै पिस्न र तेल पेल्न टाढा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ थियो । उहाँका अनुसार अहिले गाउँमा साना मिल सञ्चालन भएका छन् ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रसारण लाइन विस्तारको काम अगाडि बढाएसँगै निर्माणाधीन सवस्टेशनको काममा भने ढिलाइ भइरहेको बताउनुभयो । ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम छिटो नभएको जानकारी गराए पनि निर्माण व्यवसायीका कारण काम छिटो हुन नसकेको अध्यक्ष जिम्बाले गुनासो गर्नुभयो ।
अध्यक्ष जिम्बाका अनुसार परियोजनाअन्तर्गत महाभारतको वडा नम्बर ३, ४ र ५ का एक हजार र वडा नम्बर ५ र ७ का एक हजार गरी दुई हजार घरधुरीका नागरिकले बत्ती उपभोग गरिसकेका छन् । अहिले बलिरहेको प्रसारणले विद्युत् मात्रै उपभोग गर्न मिल्ने भएकाले साना तथा मझौला उद्योग सञ्चालनका लागि बढी क्षमताको प्रसारण लाइनका लागि सबस्टेसन निर्माण थालिएको विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ ।
विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागका परियोजना प्रबन्धक सङ्गीता कार्कीले काम भइरहेको जनाउँदै पटकपटक जग्गा धनीले विभिन्न माग राखेर अवरोध गरेकाले केही ढिलाइ भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।