महोत्तरीमा दुई वटा मोटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे, दुई जना घाइते

 पुस २४, २०८० मंगलबार ९:५४:२९ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

महाेत्तरी -  महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डमा गए राति दुईवटा मोटरसाइकल ठाेक्किँदा दुई जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दुवै मोटरसाइकलका चालकको ज्यान गएकाे जानकारी दिनुभयाे । उनीहरुकाे उपचारका क्रममा ज्यान गएकाे हाे । 

जलेश्वरबाट बर्दिबास जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ काे वडा कार्यालय नजिकै ठाेक्किएका हुन् । 

दुर्घटनामा मोटरसाइकलको पछाडिमा रहेका भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिवास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेका कारण अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया