इजरायल–हमास युद्धकाे सय दिन : २५ हजार जनाभन्दा धेरै मानिस मारिए, ‘मानवतामाथि दाग’

 पुस २९, २०८० आइतबार १९:५९:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि हमासविरुद्ध आक्रमण शुरु गरेको थियो । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण जारी रहने बताएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा झन्डै १२ सयको हत्या गर्नुको साथै दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये एक सय २१ जनालाई छाडिसकेको छ । यस्तै इजरायलको आक्रमणबाट गाजामा २३ हजार आठ सय ४३ जनाको ज्यान गएको छ । उनीहरूमध्ये कम्तीमा नौ हजार छ सय जना बालबालिका र छ हजार सात सय ५० जनाभन्दा धेरै महिला रहेका छन् ।

गाजामा ६० हजार मानिस घाइते भएका छन् । गाजामा ६० प्रतिशत अर्थात् तीन लाख ५९ हजार घर ध्वस्त भएका छन् । गाजामा रहेका झन्डै २३ लाख मानिसमध्ये झन्डै १९ लाख जना पूर्णरूपमा विस्थापित भएका छन् । झन्डै २२ लाख जनाले खाद्य सङ्कटको सामना गरिरहेका विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

गाजाका आधाभन्दा धेरै अस्पताल पूर्णरूपमा बन्द भएका छन् । खुला रहेका अस्पतालले पनि आधारभूतभन्दा बाहेक सेवा दिन सक्ने अवस्था छैन । गाजाका मानिसहरू अहिले युद्धको त्राससँगै भोक, रोग र शाेकको सामना गरिरहेका छन् । उनीहरू बाँच्नै नसक्ने ठाउँमा बाँचिरहेका छन् ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासबीच चलिरहेको युद्धले मानवतामा दाग लागेको बताएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले निकाल्नुभएको विज्ञप्तिमा बितेको सय दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले मानवतामा दाग लागेको उल्लेख छ ।

विज्ञप्तिमा अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको निन्दा गरिनुका साथै इजरायलले गरेको प्रत्याक्रमणमा मानवतामाथि दाग लागेको उल्लेख छ । गाजामा बालबालिकाको एउटा सिङ्गो पुस्ता आघातमा परेको र यो अवस्था ठिक हुन वर्षाैँ लाग्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया