'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली डाक्टरको टोलीबाटै कलेजो प्रत्यारोपण सफल भएपछि चिकित्सा क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।
अस्पतालमा केही दिनअघि कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वमा नेपाली डाक्टरको मात्रै सहभागितामा कलेजोको सफल प्रत्यारोपण भएको हो । यसअघिका हरेक प्रत्यारोपणमा विदेशी विशेषज्ञलाई सहभागी गराइन्थ्यो ।
गएको पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषलाई उहाँकी ४० वर्षीया श्रीमतीले कलेजो दान गर्नुभएको थियो । कलेजो दान गरेर श्रीमती १० दिनमै र कलेजो प्रत्यारोपण गरेका श्रीमान २० दिनमा स्वास्थ्यमा सुधार गरेर अस्पतालबाट डिस्चार्च हुनुभएको छ ।
यो सफल प्रत्यारोपण ठूलो उपलब्धि भएको र कलेजो प्रत्यारोपणमा नेपाल अब आत्मनिर्भर भएको डा.भण्डारीको भनाइ छ । उहाँका अनुसार कलेजो प्रत्यारोपणमा आवश्यक विज्ञता, उपकरण तथा पद्धति, जनशक्तिको सङ्ख्यालगायतका कारण कलेजो प्रत्यारोपण जटिल भएकाले यो सेवा शुरु हुनुलाई नै उपलब्धिको रुपमा मान्न सकिन्छ । कतिपय देशमा अरुको सहयोगमा कलेजो प्रत्यारोपणको सेवा शुरु भए पनि पछि निरन्तरता दिन नसकेको पाइन्छ । तर नेपालमा भने कोरोनाका कारण केही समय यो सेवा बन्द भए पनि फेरि निरन्तरता दिन सकिएको र यसलाई नियमित गर्ने गरी तयारी भैरहेको डा.रमेशसिंह भण्डारीले बताउनुभयो । कलेजो प्रत्यारोपणका लागि समग्रमा २५ देखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्छ ।
विदेशमाभन्दा नेपालमा कम खर्चमा उपचार गर्न सकिने विज्ञको भनाइ छ । तर नेपालमा हुने भरपर्दो उपचारबारे जनचेतनाको कमी र नेपालका अस्पतालमा पाइने उपचार सेवाबारे जानकारी नै नहुँदा बिरामीहरु महँगो शुल्क तिरेर विदेशमा उपचार गर्न जान बाध्य छन् । कतिपय बिरामी कमजोर आर्थिक अवस्थाका कारण देशभित्रै पाइने उपचारबाट पनि वञ्चित छन् ।
त्यसैले, सरकारले कलेजो प्रत्यारोपणलाई पनि कडा रोगको सूचीमा राखेर उपचारमा सहुलियत दिनु पर्ने र आम नागरिकमा नेपालमै कलेजोको सफल उपचार सम्भव भएकोबारे जनचेतना जगाउन आवश्यक रहेको डा. भण्डारीले बताउनुभयो । अहिले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पताल गरी दुई वटा सरकारी अस्पतालमा तथा अरु दुई वटा निजी अस्पतालमा गरेर चार वटा अस्पतालमा कलेजो प्रत्यारोपण हुने व्यवस्था छ ।
सरकारले भइरहेको सेवालाई गुणस्तरीय बनाएर मात्र अरु ठाउँमा अनुमति दिनुपर्ने डा. भण्डारीको सुझाव छ । यस्तै, विशेषज्ञ डाक्टरलाई निरन्तर सहयोग र प्रोत्साहनसँगै दक्ष जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा २०७३ देखि कलेजो प्रत्यारोपण शुरु भएकामा अहिलेसम्म झण्डै ३९ जनामा कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालमा मात्र ११ जनामा कलेको प्रत्यारोपण भएको छ । यो अस्पतालमा २०७६ सालदेखि शुरु भएको प्रत्यारोपणमा यसअघि १० जनामा कोरियन, भारतीयलगायत विदेशी विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।