दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप आयो

 माघ २२, २०८० सोमबार १५:२७:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताउनुभयो । अभियान सञ्चालन गरी झन्डै ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका बालबालिकालाई आउँदो फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ । भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ वटा जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिनुभयो । क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उहाँको भनाइ थियो ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो । खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले खोप चाँडै नै जिल्लामा पठाइने बताउनुभयो ।

दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया