चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीको गुनासो

 माघ २४, २०८० बुधबार ९:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

आफूहरु चीन जान नपाउने अवस्था कायमै रहेको र यसबाट नेपाली व्यवसायीको अर्बाैँ रुपैयाँको सामान जोखिममा परेको उनीहरुको भनाइ छ । व्यवसायीहरुले नाकामा सहज नहुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा बनेको गुनासो गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले केरुङ र तातोपानी नाकामा व्यवसायीलाई पनि अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको छ । अहिले सम्बन्धित जिल्लाका व्यवसायी मात्रै नाकापारि जान सक्ने अवस्था छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई वटा नाका केरुङ र तातोपानी नाकामा जिल्लाका व्यवसायी मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीलाई अस्थायी पासको व्यवस्था मिलाउन आफूहरुको माग रहेको बताउनुभयो । उहाँले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायी आफैँ जान नपाउँदा समस्यामा परेको बताउनुभयो ।

चीनबाट आयात हुने सामान नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायी नाका पारि जान नपाउने अवस्था विद्यमान रहेको उहाँको भनाइ छ । अध्यक्ष कार्कीले सामान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय साधन लैजानुपर्ने एकाधिकार हटाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण समेत गराएको बताउनुभयो । महासङ्घले व्यवसायीलाई सहज रुपमा व्यापार/व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।

चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको महासङ्घले जनाएको छ । महासङ्घका उपाध्यक्ष लक्ष्मी खड्काले चीनबाट अर्बौँ रुपैयाँ लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताउनुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि चीनसँग जोडिएको केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीले मात्रै नाकापारि जान पाउने व्यवस्थाले समस्यामा पारेको बताउनुभयो । व्यवसायीले नाकामा भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया