आलुबालीमा लाग्ने रोग र यसको उपचारबारे विशेषज्ञ तालिम

 फागुन ३, २०८० बिहीबार १८:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रले आलुबालीमा लाग्ने रोग र त्यस्ता रोगको उपचारबारे विशेषज्ञसहितको तालिम सम्पन्न गरेको छ । आलुबालीको अनुसन्धानमा काम गर्ने वैज्ञानिक, प्राविधिक अधिकृत र प्राविधिकहरूको आलुबालीका रोग निदान र मूल्याङ्कन गर्ने क्षमता बढाउने उद्देश्यले तालिम भएकाे हो ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक एवम् मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बालीको जातीय विकासका मूल बाधक नै रोग किरा भएको बताउनुभयो । उहाँले रोगको उपचार र व्यवस्थापनको पक्ष निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । विभिन्न बालीहरूको रोग किराको तथ्याङ्क लिने तरिका फरक फरक हुने हुनाले आलुबालीमा काम गर्ने प्राविधिकहरूले यसमा विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सुरज वैद्यले आलुबालीका जातहरू उन्मोचन र पञ्जीकरण प्रक्रियाका लागि आवश्यक बालीरोग तथ्याङ्क सङ्कलनमा एकरूपता कायम गरी त्यसको प्रभावकारितामा अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम आयोजना गरेको जानकारी दिनुभयो ।

तालिममा आलुबाली अनुसन्धानमा सक्रिय बाली रोग विज्ञ डा. रामदेवी तिमिला, डा. शम्भुप्रसाद धिताल र सुरज वैद्यले आलुबालीका रोगहरूको निदान र व्यवस्थापन विषयमा र बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका प्रमुख बेनुप्रसाद प्रसाईँले बालीनालीका जातहरूको दर्ता एवम् उन्मोचनका कानुनी पक्षबारे जानकारी गराउनुभएको थियो । यसैगरी आलुबालीको जातीय अनुसन्धान प्रक्रियाबारे राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत नीला पौडेलले प्रस्तुति राख्नुभयो ।

आलुबालीमा लाग्ने ढुसी, ब्याक्टेरिया, भाइरस र निमाटोडको निदान र मूल्याङ्कन गरी उपयुक्त जात सिफारिस गर्न रोग किराका तथ्याङ्क राम्ररी रेकर्ड गर्ने क्षमताको वृद्धि गर्ने हुनाले यसको विशेष महत्त्व रहेको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायले बताउनुभयो ।

तालिममा आलुबाली अनुसन्धानमा प्रत्यक्षरूपमा संलग्न रहेका ४० जना विज्ञको सहभागिता थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया