बाजुराको माथिल्लो भेगमा छ महिनापछि वर्षासँगै हिमपात, किसान खुशी

 फागुन ८, २०८० मंगलबार १२:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाजुराको माथिल्लो भेगमा छ महिनापछि वर्षासँगै  हिमपात भएको छ ।  पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

यस्तै, जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा पनि  हिमपात भएको छ । माथिल्लो भेगमा वर्षासँगै  हिमपात भएपछि किसान खुसी भएका छन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । बेँसीतिर पानी पर्दा भने अत्यधिक मात्रामा जाडो बढेको छ । गएरातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

बडीमालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । हिमपातका कारण बाजुराको उत्तरी क्षेत्रका चार वटा पालिका र हुम्ला, मुगु र कालीकोटका केही पालिका जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।

यसैबीच, गएरातिदेखि पश्चिमबाट शुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम पर्सि बिहीवारसम्म जारी रहने र बिहीवार बेलुकादेखि पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया