सगरमाथा क्षेत्रमा पर्यटक आवागमन शुरु, व्यवसायी धमाधम फर्किँदै

 फागुन ८, २०८० मंगलबार १२:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । चिसोका कारण हिउँदमा केही समय आवागमन ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम शुरु भएको हो ।

पर्यटक प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आउनेक्रम बढ्न थालेको पर्यटक प्रहरी इञ्चार्ज प्रहरी हबलदार शङ्कर खत्रीले बताउनुभयो । खुम्बु भित्रिने पर्यटकमा विशेषगरी कोरियन र चाइनिज धेरै रहेका पर्यटक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

सिजनको शुरुवात भएकाले आउने पर्यटकको तुलनामा फर्कने कम छन् । तर यसवर्ष विगतको तुलनामा खुम्बुमा हिमपात कम भएको छ । यस वर्ष हिमपात नहुँदा लुक्लाबाट देखिने डाँडाहरु उराठलाग्दा बनेका स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो ।

सगरमाथा क्षेत्रमा पर्यटक आउनेक्रम शुरु भएसँगै खुम्बुका पर्यटन व्यवसायी पनि व्यवसायमा फर्किन थालेका छन् । चिसो छल्न काठमाण्डौ, पोखरा, भारतको बौद्धगयालगायतका क्षेत्रमा गएका व्यवसायीहरु अहिले फर्किन थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

सिजनको शुरुवातमै पर्यटक आवागमनले उत्साहित बनाएको स्थानीय व्यवसायी ल्हेमी शेर्पाले बताउनुभयो । ‘अफ सिजन’ मा बन्द भएका होटलहरु झण्डै ४० प्रतिशतभन्दा धेरै खुलिसकेका नाम्चेका पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो ।

खुम्बुमा वर्षको दुई सिजन, फागुन, चैत्र, वैशाख र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटक आवागमन शुरु भएसँगै तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला सोलुखुम्बुमा पनि यात्रुको चाप बढेको छ ।

काठमाण्डौबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाण्डौ–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया