तपाईँले खाने खाना सुरक्षित छ ?

 फागुन १९, २०८० शनिबार १८:२१:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – विज्ञहरुले बजारमा पाइने कुनैपनि खाना खानुअघि त्यो खानाबारेमा जानकारी लिन आवश्यक रहेको बताएका छन् । धनगढीमा आयोजित खाद्य स्वच्छतासम्बन्धी गोष्ठीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि त्यसको विवरण हेर्नुपर्ने बताउनुभयो । खानाको अवस्थाबारेमा ख्याल नगरि कतिपय उपभोक्ताले बजारमा पाइने खानेकुरा उपभोग गरिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको उहाँको भनाइ छ । चाहिने मात्राभन्दा बढी चिल्लो पदार्थ प्रयोग गरेर पकाइने खाना नियमित उपभोग गर्ने बानी परेका मानिसमा कोलस्ट्रोल र हृदयघातको समस्या हुनसक्ने पुलामीले बताउनुभयो ।

पछिल्लो समय बाली उत्पादन गर्दा आली (खेत) मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने रासायनिक मल तथा विषादीको जथाभाबी प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता रासायनिक विषादीबाट खानेकुरामा मिसिने दूषित तत्त्वले खानालाई पनि दूषित वा अखाद्य बनाइदिने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुलामीले भन्नुभयो । खानेकुरामा भएको चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी चिल्लो पदार्थ आफूले खाने खानामा हुनुहुँदैन भन्दै पुलामीले ट्रान्स फ्याटको मापदण्ड सरकारले तोकेअनुसारको हुनुपर्ने बताउनुभयो ।

सरकारले अहिलेसम्म एक सय ४० वटा खाद्यवस्तुको अनिवार्य मापदण्ड तोकेको छ । गुणस्तरीय खाद्य वस्तु उपभोक्तासमक्ष पुर्‍याउने र खाद्य प्रविधिको विकास गर्न नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गतका कार्यालय सञ्चालनमा छन् । यी कार्यालयको पहुँच धेरै जिल्लामा पुगेको भए पनि पर्याप्त साधन स्रोतको अभावमा खाद्य वस्तुको गुण नियन्त्रण, अनुगमनलगायतका काम प्रभावकारी बनाउन चुनौतीपूणर् रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निमित्त प्रमुख हरिसिंह बोहराले बताउनुभयो ।

काठमाण्डौ र विराटनगर बाहेकका स्थानमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नभएका भन्दै कतिपय कार्यालयमा भएका प्रयोगशालाका उपकरण पनि थन्किएका बसेका निमित्त प्रमुख बोहराले जानकारी दिनुभयो ।

खाद्य ऐन २०२३ ले कसैले दूषित वा न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री गरेमा वा उत्पादन गरेमा ५० हजार रुपैयाँ जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था गरेको छ । योबाहेक ऐन नियम उल्लङ्घन गरेमा १० हजार रुपैयाँ जरिबाना गर्न सकिने कानुनी व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया