खाडी र मलेसियाबाट आयो एक हप्तामै ३८ नेपालीको शव, अझै १०५ नेपालीको शव स्वदेश ल्याउन बाँकी

 असार २१, २०७७ आइतबार ९:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा ३८ नेपालीको शव स्वदेश ल्याइएको छ । यी देशमा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै महिनौंदेखि रोकिएका नेपालीको शव ल्याउन थालिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कोरोनाको महामारी सुरु भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ मध्ये शनिबारसम्ममा १२५ जनाको शव ल्याइएको छ । नेपाली लिन गएका चार्टर्ड जहाजले त्यहाँ ज्यान गुमाएका नेपालीको शव पनि ल्याइरहेका छन् ।

कहाँबाट कति नेपालीको शव ल्याइयो ?

आइतबारसम्ममा साउदीबाट ३९, मलेसियाबाट ३८, कतारबाट ३०, यूएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ नेपालीको शव ल्याइएको बोर्डले जनाएको छ । मृतकका परिवार काठमाण्डौसम्म लिन आउन सक्ने अवस्था नभएमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिइरहेको छ ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र कहिले शव आउने भन्ने यकिन नहुँदा मृतकका आफन्त कतिपयले परदेशमै अन्त्येष्टिका लागि सहमति पनि दिएका छन् । अहिलेसम्म खाडीका देश र मलेसियासहित अन्य विभिन्न देशमा गरेर मृतकमध्ये १३२ जनाको उतै अन्त्येष्टि गरिएको छ ।

साउदीमा अहिलेसम्म ज्यान गुमाएका ११० जनामध्ये ३९ जनाको शव आफन्तलाई बुझाए पनि २६ जनाका परिवारले उतै अन्त्येष्टि गरिएको छ । यूएईमा ज्यान गुमाएका ७५ जनामध्ये ५५ जनाको शव उतै अन्त्येष्टि गरिएको छ भने कतारमा यो अवधिमा ज्यान गुमाउने ५५ जनामध्ये १८ जनाको शव कतारमै अन्त्येष्टि गरिएको छ ।

मलेसियामा यो अवधिमा ज्यान गुमाएका ६२ जनामध्ये परिवारको अनुमतिमा ८ जनाको उतै अन्त्येष्टि गरिएको छ ।

कुवेतमा ज्यान गुमाएका १७ जनामध्ये पाँच जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । ओमानमा २ जनाको ज्यान गएकोमा १ जनाको उतै अन्त्येष्टि गरिएको छ भने एक जनाको शव परिवारले पाइसकेका छन् । बहराइनमा यो अवधिमा ज्यान गुमाएका ८ जनामध्ये ३ जनाको परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

दक्षिण कोरियामा ज्यान गुमाएका पाँच जनाको शव लकडाउनका कारण ल्याउन समस्या भएपछि उतै अन्त्येष्टि गरिएको छ । अन्य विभिन्न देशमा १८ जनाको ज्यान गएको र उनीहरुमध्ये ११ जनाको उतै अन्त्येष्टिको लागि सहमति प्राप्त भएको बोर्डले जनाएको छ ।

अहिले खाडी र मलेसियासँगै विभिन्न देशमा गरी १०५ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी छ । अहिले सबैभन्दा धेरै शव साउदीमा बाँकी छ । साउदीमा ५२, मलेसियामा १९, यूएईमा १३, कतारमा ७, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न देशमा ७ जना गरी १०५ नेपालीको शव गन्तव्य देशमै रोकिएका छन् ।

विभिन्न जहाजमार्फत विमानस्थलसम्म ल्याइएका शव बोर्डले निःशुल्क घरसम्म पुर्‍याइदिइरहेको छ ।

तपाईको प्रतिक्रिया