‘ओभरस्टे’ बापतको जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै अड्किए १७ नेपाली

 भदौ १५, २०७७ सोमबार १०:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जरिवाना तिर्न नसक्दा यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटिसकेका १७ जना नेपाली दुबई विमानस्थलमा अड्किएका छन् ।

सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट काटिसकेका २६८ जनामध्ये १७ जनाले भने भिसाको अवधि सकिंदा तिर्नुपर्ने ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्कन नपाएको नेपाल एअरलाइन्सको यूएई प्रतिनिधि टिकाराम पंगेनीले जानकारी दिनुभयो ।

आज नेपाल एअरलाइन्समार्फत नेपाल फर्कने अधिकांश नेपालीले जरिवाना तिरेका छन् । जरिवाना बापतको रकम धेरै नै भएका ४५ जनामध्ये १७ जनालाई कसैगरी पनि पठाउन नसकिएको पंगेनीले बताउनुभयो । उहाँका अनुसार, नेपाल फर्कने अधिकांशले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा दुबई विमानस्थलमै होल्ड गर्नु पर्‍यो ।

‘हामीले महिनौंदेखि दुःख पाएर टिकट काटिसकेका नेपालीलाई सकेसम्म लैजाउँ भनेर पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्‍यौं तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन,’ पंगेनीले भन्नुभयो, ‘सबैले जरिवाना बापतको रकम तिर्दा समय लाग्यो, सबैलाई लैजान भनेर हामीले कुर्‍याैं, जसको कारण केही यात्रु भने साढे तीन घण्टाजस्तो जहाजमै बस्न पर्‍यो ।

’ यूएईले मार्च १ भन्दा अघि नै भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपछि त्यसभन्दा पछि भिसाको अवधि सकिएर पनि स्वदेश नफर्किएकालाई जरिवाना लिइरहेको छ । त्यसैले आज फर्कने नेपालीहरु समयमा घर फर्कने टिकट नपाउँदा, लामो समयसम्म कुर्नुपर्दा जरिवानामा परेका हुन् ।

कतिपयले जरिवाना बापतको रकम ऋण गरेर तिरेका छन् भने कतिपयले खल्तीमा आफूसँग बचेको रकम तिरेर फर्किएका छन् । सरकारले कहिले उद्धार उडान रोक्ने, जहाज सङ्ख्यामा पनि कोटा निर्धारण गर्नेजस्ता नियम लगाउँदा उनीहरु जस्तै थुप्रै श्रमिक जरिवाना तिर्न बाध्य भएका छन् ।

जहाजले नकुरेको भए र सबैले समन्वय नगरेको भए आज नेपाल एअरलाइन्समार्फत फर्कन टिकट काटिसकेका ४५ जना नै फर्कन पाउने थिएनन् । यूएईबाट फर्कंदा जरिवाना तिर्नुपर्ने छ भने त्यो रकम चुक्ता नगरी आउन पार्इंदैन । यदि अध्यागमनले कालो सूचीमा राखेर अनुमति दिएमा आउन पाइन्छ ।

तर त्यसमा लागि सधै अध्यागमनले अनुमति दिन्छ भन्ने हुँदैन । तर कुनै पनि सर्तमा जरिवाना नतिरी अध्यागमनले अनुमति नदिएपछि घर फर्कन झोला बोकेर विमानस्थल पुगिसकेका १७ जना भने दुबई विमानस्थलमै अड्किएका छन् । जहाज केहीबेर अघि काठमाण्डाैका लागि उडेकाे छ ।

1 Comments

  • Mohan Prakash Raut

    Sept. 1, 2020, 11:02 a.m.

    नेपाल सरकार को गैर जिम्मेवारी एबम लाचारिपन कारण आज कैयौं नेपाली हरु यो स्थिति भोग्न बाध्य हुनु परेको छ । कमसेकम फ्लाइट चार्टड/नियमित राखिदिए अनि जसको ओभर स्टे भएको छ त्यसलाई पहिलो प्राथमिकता मा राखिदिए राम्रो साथै यो भार पर्ने थिएन ।

तपाईको प्रतिक्रिया