मलेसियाले विदेशी श्रमिक ल्याउन राेजगारदातालाई नयाँ स्वीकृति नदिने, स्वीकृत भएको कोटामा छिटो ल्याउन निर्देशन

 चैत ५, २०७९ आइतबार १७:४०:४८ | एजेन्सी
unn.prixa.net

मलेसिया सरकारले विदेशी कामदार ल्याउने विषयमा तत्कालकाे लागि त्यहाँका रोजगारदातालाई नयाँ स्वीकृति दिन स्थगित गरेको छ । मलेसियाकाे मानव संसाधन मन्त्रालयले गएको मार्च १४ सम्म विभिन्न कोटामार्फत राेजगारदाताले माग गरेका ९ लाख ९५ हजार ३९६ वटा विदेशी श्रमिकको लागि स्वीकृति दिएकाे छ । 

अहिलेसम्म स्वीकृत गरेका विदेशी श्रमिकको कोटाले प्रमुख श्रम क्षेत्रका मागहरु पूरा गर्न पर्याप्त हुने भएकाले नयाँ निवेदन लिन र स्वीकृति दिन बन्द गरिएको त्यहाँका मानव संसाधन मन्त्री भी शिवकुमारले बताउनुभएको छ । 

‘स्वीकृत भएका विदेशी श्रमिकको कोटा अहिलेको आवश्यकता पूर्ति गर्न पर्याप्त छन्’, उहाँको भनाइलाई उद्धृत गर्दै मलायमेलले लेखेको छ । 

यस्तै मन्त्री भी शिवकुमारले स्वीकृति दिइएका कोटामा श्रमिक छनौट गरेर मलेसिया ल्याउने प्रक्रिया चाँडाे गर्न पनि रोजगारदातासँग आग्रह गर्नुभएको छ । त्यसपछि मात्र आवश्यक परेमा विदेशी श्रमिककाे स्वीकृति खुलाउने उहाँले बताउनुभएको स्थानीय सञ्चार माध्ययमले जनाएका छन् । 

मलेसियाको सरकारले गएको जनवरी १७ देखि यही मार्च ३१ सम्मको लागि विदेशी श्रमिक भर्तीलाई खुकुलो पार्ने योजना ‘पीकेपीपीए’ ल्याएको थियो । तर अवधि सकिनुअगावै मार्च १८ देखि यो योजना अन्तर्गत रोजगारदाताबाट विदेशी श्रमिकको लागि निवेदन लिन र स्वीकृति दिन स्थगित गरिएको हो । 

उत्पादन, निर्माण, प्लान्टेशन, कृषि र सेवामा रेस्टुरेन्ट क्षेत्रको लागि विदेशी श्रमिक ल्याउन पाउने गरी श्रमिक भर्ना नियम खुकुलो बनाएको थियो ।
 

तपाईको प्रतिक्रिया